काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा खिर बनाउँछन् ।
चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
कोरोना महामारी चलेका बेला दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ ।