लकडाउन अनुभूति: अब त बाँचिन्छ कि !

(पडकास्ट सहित)

जब बन्दाबन्दीको घोषणा भयो । सबभन्दा पहिले मेरो ध्यान खल्तीमा गयो । खल्तीमा एउटा पुरानो फोनसेट मात्र थियो । फोनसेटमा बैंकको मेसेज अलर्ट हेरेँ । त्यसमा लेखिए बमोजिम अब खल्तीमा पैसा आउनेवाला थिएन । खल्तीमा पैसा नआए भान्छामा कार्यक्रम बन्द हुनेवाला थियो । भान्छाको कार्यक्रम केही दिनसम्म हुने त पक्कापक्की नै थियो । भान्छाको कार्यक्रम सक्किएको दिन जिन्दगीको कार्यक्रम भने धरापमा पर्ने निश्चित नै थियो ।

मुख्य कुरा त पिउने पानीको ढुवानी बन्द भयो भने के पो गर्ने होला । यो मूल चिन्ताको विषय थियो । तर पानी नियमित वितरण हुन थाल्यो । मैले पानी किन्नका लागि पैसाको खोजी गरेँ ।

सिरानीमुनि एउटा नोट रहेछ, एक जार पानी बराबरको । पानी एक जार ल्याएँ । चामल पनि सक्किनै लागेको थियो । तर अलिकति मकैको पिठो बाँकी थियो, आमाले पठाइदिनुभएको । मेरो प्राण, मेरी आमा र मकैको पीठो ।

 

पैसा सकियो । पानी पनि सकियो ।
काकाकुल जिन्दगी बाँच्न सकिन्न । इनारको पानी पिउने विचार गरेँ । मज्जाले उमाल्ने, पिउने । बिजुलीबाट चल्ने भाँडा जोहो गरेको थिएँ पानी उमाल्न ।

सोच्न थालेँ ।

एउटा जुक्तिले भन्यो, यै बेला हो खुत्रुके फोर्ने । माटोको खुत्रुके हो । ५० रुपैयाँ तिरेर किनेको । यसलाई फटाउनु भनेको ५० को नोट च्यातचुत पार्नु पनि हो । त्यतिले त एकजार पानी पो आउँछ । यस्तो सोचेँ । फेरि खुत्रुकेमा जम्माजम्मी ५० पनि छ कि छैन । पैसा जम्मा गर्न थालेको धेरै दिन पनि भएको थिएन ।

अर्को जुक्ति आयो । बुद्धि, विवेक र जुक्ति संकटमा नै आउँछ भन्थे । हो भन्ने बुझ्दैछु ।

खुत्रुके पनि जोगाउने, पैसा पनि पाइने । खरेटोको सिन्को खुत्रुकेको सानो प्वालबाट भित्र छिराउने र नोट च्यापेर पैसा निकाल्ने । मोबाइल फोनको टर्च बालेर खुत्रुकेको पैसा खसाल्ने प्वालमा राख्ने र खुत्रुकेको मुखबाट भित्र हेर्ने । हेर्दा पैसा देखियो । पाँचका, दशका, बीसका, पचासका, सयका नोटहरु देखिए ।

मनखुस भएजस्तो भयो ।

देब्रे हातले खुत्रुके उचालेँ । दाहिने हातको सहायताले पैसा खसाल्ने प्वालबाट सिन्का भित्र छिराएँ । सिन्काले पैसालाई स्पर्श ग-यो । तर पैसा तानिएन ।

पटकपटक प्रयास गरेँ । पैसा निकाल्न सकिएन । दुबै हात गले । म थाकेँ ।
त्यतिनै बेला झुन्डिराखेको ऐना हेरेँ । आफ्नो निधारबाट त पसिना पो बगिरहेको देखेँ ।
दुबै हातले खुत्रुके उचालेर हल्लाएँ । भित्रबाट छन्द्रङछुन्द्रुङ आवाज आयो । सरर्र सुरुर्र ध्वनि निस्कियो ।
पैसा निकालेर पानी किन्ने योजना असफल होला जस्तो भयो ।
अब पानी उधारो माग्ने विचार गरेँ ।

 

अर्को मनले भन्यो, ‘फेरि प्रयास गर भाइ ।’
यो पल्ट खुत्रुकेभित्र उज्यालो पार्ने प्रयास गर्दै पट्टयाएको नोटको बिच भागमा सिन्का पसाउन खोजेँ । अनि खुत्रुकेलाई उल्टो पारेर नोटलाई मुखनजिक ल्याउन अलिअलि हल्लाएँ । सिन्काको चेपमा पैसा । सिन्कालाई खुत्रुकेसँग जोडले टाँसेर प्वालपट्टि तानेँ । नोटको अलिकति भाग बाहिर निस्कियो । नोटलाई दुई औंलाले समातेर विस्तारै तानेँ । नोट फुत्त निस्कियो । रु पाँच ।
प्रयास जारी राखेँ । निरन्तर ।

पचासको नोट निस्कियो एकपल्ट । आधा च्यातियो । झण्डै कामै नलाग्ने भएको ।
अब एक जार पानी त आयो । थकान अलिकति मेटियो ।
एकपल्ट त एक रुपैयाँको सिक्का फुत्त झ-यो । त्यसलाई फेरि भित्रै खसालिदिएँ ।
अन्ततः सबै नोटहरु निकालेँ । जम्मा ४ सय पञ्चानब्बे रुपैयाँ जम्मा गरेको रहेछु ।
अनि चार जार पानी किन्न पुग्ने रुपैयाँ स्टक राखेर बाँकी पैसाले चिउरा, आलु र साग अनि गोलभेँडा किनेँ । एक लिटर दूध पनि किन्न मन थियो । हिसाब गरेँ र किन्न सकिनँ ।

 

एक सातामा रासन लगभग सकियो । अब के गर्ने ? अफिसियल खातामा अलिकति पैसा थियो । त्यो पनि बैंक बन्द भएर निकाल्न नमिल्ने भयो ।

पर्सनल खातामा पैसा छैन । अनि एक मित्रलाई अनुरोध गरेँ । केही हजार रकम पठाउन मिल्नेछ भन्ने सन्देश आयो । तर पैसा आएन । त्यसपछिका दिनमा मित्रको खबर पनि आउन छाड्यो ।

जे जसरी भए पनि पेटका लागि त आफैंले सोच्नुप-यो ।

अनि, आफुलाई आवश्यक खाद्यान्नको सूची बनाएँ । आफ्नै भिजिटिङ् कार्डको खाली भएको साइडमा लेखेँ । अनि कार्ड बोकेर गएँ होलसेल र खुद्रा दुबै कारोबार गर्ने छिमेकी दाजुको पसलमा । कार्ड दिएँ । सामान प्याक भयो । दाजुले उक्त कार्ड मेरो हातमा थमाए, जसमा जम्मा रकम लेखिएको थियो । अनि भनेँ, यो कार्ड हरायो भने ? उनले भने, हराए पनि केही छैन । उनले खाता पनि बनाएनन् । निशर्त सामान दिए । म अब त बाँचिने भैयो भनेर फर्कें । मनमनै दाजुलाई धन्यवाद दिइरहेँ ।

सामानहरु निकालेर राखेँ अनि निक्कैबेर सामानलाई हेरिरहेँ ।

 

मेरो पर्सनल खातामा ५ हजार जम्मा भयो । एक हितैषीले पठाइदिएका रहेछन् ।
सोचेँ, ‘अब एक लिटर दुध पनि किन्छु । मिल्क टि पिउँछु ।’ पानीपछिको मेरो प्रिय पेयपदार्थ नै त्यही न हो । ‘एक केजी स्याउ किन्छु । पसलको उधारो तिर्छु ।’ यस्तै–यस्तै सोचेँ । अनि म भिजा कार्ड बोकेर एटीएम् मेसिनको कोठामा छिरेँ । फटाफट पिन नम्बर दबाएँ । अझ सुरक्षित हुने प्रयास गर्दै दबाएको थिएँ । तर कारोबार रद्ध भयो । मेसिनले पैसा दिन मानेन ।

बाहिर निस्केर मोबाइलको मेसेज बक्समा हेर्छु त, मेसेज आएको रहेछ । गलत पिन नम्बर डायल गरेका कारण कारोबार ब्लक गरिएको पो रहेछ ।
अब के पो गर्ने होला ? शरीर एकाएक तातेर आयो ।
तर पनि, अब बाँच्नका लागि कुनै समस्या छैन क्यारे भन्दै वासस्थान फर्किएँ ।

 

भोलिपल्ट फोनबाटै बैंकलाई अनुरोध गरेँ, पहिलेकै पिन नम्बर एक्टिभेट गरिदिन । बैंकको कार्ड सेन्टरले मेरो अनुरोध बमोजिम गरिदियो । धन्न बैंक धाउनु परेन । पहिले प्रयोग गरिरहेको पिन नम्बर एउटा कागजमा टिपेर राखेको थिएँ । अब सम्झिनै परेन ।

खल्तीमा पैसा आयो । पैसा निकालेर पसलको दाजुलाई तिरेँ । सोचेँ, उधारो खाता नबनाउनु भनेको ‘अलिक चाँडै तिर्नु’ भन्नुभएको होला । त्यसैले त्यो बाँकी रकम तिरेँ । ‘अर्कोपटक अप्ठेरो आइपरे मसँग छँदैछ नि भिजिटङ् कार्ड।’ मनमनै मुस्कुराएँ म ।

 

अब ग्याँस सकियो भने के गर्ने होला ?
यो प्रश्नबारे सोच्न नपरोस् भनेर आधा सिलिण्डर ग्याँस खरीदका लागि पुग्ने रकम खुत्रुकेमा राखेको छु ।

अब त बाँचिन्छ कि !

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार